काठमाडौं,पुष ६ – सत्तारूढ दलहरूले एमसीसीको बारेमा साझा धारणा तय गरेर अगाडि बढ्नुपर्ने मत व्यक्त गर्न थालेका छन् । आइतवार बसेको सर्वदलीय बैठकपछि सोमवार सत्ता गठबन्धनका अधिकांश नेताहरूले साझा धारणा तय गरेर जानुपर्नेमा जोड दिएका हुन् ।
यसैबीचमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीको नाममा सत्ता गठबन्धन तोडाउन खोजेको भन्दै अधिकांश नेताहरूले उनीमाथि रोष पोखेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन् ।