काठमाडौं,असोज ६- देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। प्रदेश–१, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम र प्रदेश–१ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।