काठमाडौं,माघ ६-प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो । शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरी फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुनेछ ।
सुनसरीको इटहरीस्थित जनता माविको मैदानमा एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । कप्तान रुविना क्षेत्रीले अविजित २० रन बनाउँदा काजल श्रेष्ठले ९ र अप्सरी बेगमले अविजित ९ रन जोडिन् । प्रदेश १ ले ७ अतिरिक्त रन पाएको थियो । बलिङमा एपीएफकी नेरी थापाले १ विकेट लिइन् ।