काठमाडौं,माघ ७- मौसम अनुकूल रहेकाले आज आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए ।
मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो । आज बिहानैदेखि काठमाडौँ विमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ । काठमाडौँ बाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ ।तुलनात्मकरुपमा आज काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । शुक्रबार विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको थियो । आज विमानस्थलको भिजिबिलिटी राम्रो रहेकाले उडान नियमित सञ्चालन भइरहेको हो ।