काठमाडौं,माघ १६- शुक्रवार सर्वोच्चको आदेशपछि रवि लामिछाने हिजो प्रक्रिया पुर्याएर नागरिकता लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका छन् । यसबाट अमेरिकी नागरिकता लिएपछि स्वतः निष्क्रिय भएको नेपाली नागरिकता बोकेर हिँडेका उनले पछिल्लो सात वर्ष सोही नागरिकताको दुरुपयोग गरेको प्रमाणित भैसकेको छ ।
उनलाई प्रक्रिया पुर्याएर नागरिकता लिन अदालतले आदेश दिएपछि शनिवार वडा कार्यालयबाट सिफारिस लिएको र भैपरीमा साक्षी राख्न हिजो दाजु हरिशरणलाई सङ्गै लगेको देखिएको छ । बिहान साढे १० बजे बबरमहलस्थित सिडिओ कार्यालय जाने कार्यक्रम राखे पनि उनी मध्यान्ह १२ बजेतिर त्यहाँ पुगेका थिए । लामिछाने काठमाडौं सिडिओ कार्यालयमा पुग्दा समर्थकभन्दा युट्युबरहरुको भीड बाक्लो थियो ।