काठमाडौं,फागुन २८-आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बिहीबारदेखि फागुन १५ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज, फागुन २८ गते आइतबार सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडकाे रजिष्टर्ड कार्यालयमा गरिएकाे थियाे ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३८ हजार ४ सय ६६ जना लगानीकर्ताहरूले कुल १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १५ लाख ३६ हजार २ सय ६३ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । सेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन् ।
संस्थाले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेकाे थियाे । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँड समेत भइसकेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी रहेको जम्मा १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयर सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।