काठमाडौं,चैत्र ७- काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ गाडी कारबाहीमा परेका छन् । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा गाडीलाई कारबाही गरेको हो ।
कार्यालयका अनुसार सबैभन्दा बढी गाडी अड्याउन निषेध गरेको ठाउँमा गाडी राखेको कसुरमा ८८ हजार चार सय ७२ गाडी कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, गाडीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, जाँडरक्सी खाएर गाडी चलाउने ३७ हजार आठ सय ९६ गाडी कारबाहीमा परेका छन् ।
यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा गाडी चलाउने १६ हजार नौ सय ६८, गाडी मोड्न निषेध गरेको ठाउँमा गाडी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वान वेमा गाडी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका गाडी चलाउने २८ हजार आठ सय ९९, गाडी चलाउन निषेध गरिएको ठाउँ र समयमा गाडी चलाउने १६ हजार दुई सय ४७ गाडीलाई कारबाही गरेको हो ।