काठमाडौं,बैशाख २०- ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका टासी छिरिङ शेर्पा र ओलाङ्चुङगोलाका तेन्जिङ वालुङले जानकारी दिनुभयो ।
यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात र वर्षा भएपछि किसान खुशी भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानलाई राहत मिलेको छ ।