काठमाडौं,बैशाख २१- आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्ने मौसमविद् लामिछानेले बताउनुभयो ।
प्रि-मनसुनमा स्थानीय वायुको प्रभावले समेत वर्षा हुने भएकाले तत्काललाई दिनभरी घाम लाग्ने सम्भावना नरहेको उहाँको भनाइ छ । विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ । यस्तै, पानी नपरेका केही ठाउँमा पनि दिउँसो पछि मौसम बदली हुनेछ । अहिले कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको छ ।